पूर्व शिक्षामन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएकी छिन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै श्रेष्ठले दलको झोला बोक्नेहरुलाई अवसर दिइएको भन्दै शिक्षा प्रणालीको दलीयकरणप्रति कडा आलोचना गरिन्।
दलको प्रभाव र क्षमताको प्रश्न
श्रेष्ठले शिक्षा, स्वास्थ्य, र प्रशासन सबै क्षेत्रमा दलीयकरण भइरहेको उल्लेख गर्दै यो प्रवृत्तिले क्षमतावान व्यक्तिहरूको अवसर खोसिएको आरोप लगाइन्। उनले भनेकी छिन्, “सानो हुँदा बलभन्दा बुद्धि ठूलो भनेर पढ्नुभएको थियो, तर अहिलेको विश्वविद्यालयको अवस्था र माननीयहरुको व्यवहार हेर्दा दलको प्रभाव बुद्धिभन्दा बलियो भएको देखिन्छ।”
सरस्वती क्याम्पसको घटना र प्रधानमन्त्रीको भूमिका
श्रेष्ठले ठमेलस्थित सरस्वती क्याम्पसमा चिट चोराउने क्रममा अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटेको घटनालाई उठाउँदै प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि प्रश्न उठाइन्। “प्रधानमन्त्रीकै दलको भ्रातृ संगठनका नेताले यस्तो गरिरहेका छन्, र प्रधानमन्त्री भने शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्दै हिँड्नुहुन्छ,” उनले भनिन्।
प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न
श्रेष्ठले प्रधानमन्त्री ओलीको शिक्षकलाई राजनीति गर्न प्रोत्साहित गर्ने धारणा गलत भएको र यसले शिक्षा क्षेत्रमा अझै धेरै समस्याहरू निम्त्याउने चेतावनी दिइन्। उनले प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै भनिन्, “प्रधानमन्त्रीज्यूको कार्यक्षमता यसमा छैन भनेर नभन्नुपर्ने कारण के छ?”