अष्ट्रेलियामा भयानक विमान दुर्घटना भएको छ, तर सौभाग्यवश कुनै जनधनको क्षती भएको छैन। दुर्घटना विद्यालयको नजिकै भएको हो, जसले गर्दा खेलिरहेका बालबालिका र अभिभावकहरूमा त्रास फैलिएको थियो। विमान उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। विमानमा पाइलट र ३४ वर्षीया महिला सवार थिए, जसलाई सामान्य चोट लागेको छ। पाइलटले इन्जिन फेल भएपछि आपतकालीन अवतरणको प्रयास गरे, तर विमान अचानक जमिनमा खस्यो। घटनास्थलमा आपतकालीन सेवाहरू तुरुन्तै पुगेका थिए।
विमान खस्नासाथ त्रासदीपूर्ण माहोल
मीडिया रिपोर्टका अनुसार, यो दुर्घटना अष्ट्रेलियाको ग्रेटर वेस्टर्न सिड्नी क्षेत्रमा भएको हो। विमान प्राथमिक विद्यालय नजिकैको बोस्ली पार्कमा खस्दा पार्कमा रहेका मानिसहरूमा हाहाकार मच्चिएको थियो। ग्रेटर वेस्टर्न सिड्नीमा बिहीबार दिउँसो देखिएको यो त्रासदीपूर्ण दृश्यले आसपासका क्षेत्रमा आतंक फैलाएको थियो। दुर्घटना दिउँसो करिब २ः२५ बजे भएको थियो, जब पाइपर पिए–२८ विमानले बैंकस्टाउन एयरपोर्टबाट उडान भरेको थियो। तर, उडान भरेको केहि समयमै विमान बोस्ली पार्कको खेल मैदानमा खस्दा भाग्यवश कुनै ठूलो क्षति भएन।
पाइलटको ‘मेडे मेडे’ कल
मीडिया रिपोर्टका अनुसार, दुर्घटना हुनु अघि पाइलटले कलमा ‘मेडे मेडे मेडे, यो टिभिपी हो, मेरो इन्जिन फेल भएको छ’ भनेको सुन्न सकिन्थ्यो। उनले ‘म प्रस्पेक्टको ठीक छेउमा छु, प्रस्पेक्टको दक्षिणमा छु ‘हामीलाई आपतकालिन अवतरण गर्नुपर्नेछ’ भनेका थिए। विमान मैरी इम्याक्युलेट क्याथोलिक प्राइमरी स्कूल नजिकै दुर्घटनाग्रस्त भयो, तर भाग्यवश विमान खस्दा नजिकै कोहि मानिस थिएनन्। भिडियोमा घटनास्थलमा रहेका दर्शकहरूको भीड देखिन्छ, जो बास्केटबल कोर्टको छेउमा रुखहरू बीचमा फसेको विमानलाई देखेर स्तब्ध भएका थिए।