तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बसमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ।
१६ जना घाइतेको उद्धार
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ। शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बस नदी किनारमा अड्किएको छ।
हताहतीको संख्या अझै बढ्न सक्ने
प्रहरीले बस दुर्घटनामा ठूलै हताहती भएको जानकारी दिएको छ। तनहुँका डीएसपी दीपक कुमार रायले उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन्। प्रारम्भिक जानकारी अनुसार बसमा चालक, सहचालकसहित ४३ जना सवार थिए।
उद्धार कार्य जारी
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धार कार्यमा खटिएको छ। स्थान भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ताहरू डोरीको सहायताले बससम्म पुगेर उद्धारमा सक्रिय छन्।