कास्की - पोखरा महानगरपालिका-१७ स्थित घारीपाटन चोकमा शुक्रबार दिउँसो ३ बजेतिर स्कुल बस दुर्घटनामा परेको छ। न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनाका कारण बसमा सवार विद्यार्थीहरूलाई केही नभए पनि पार्किङमा रहेका ट्याक्सीहरूमा क्षति पुगेको छ।
चालक घाइते, तीन ट्याक्सीमा क्षति
बस अनियन्त्रित भएर दुर्घटना हुँदा तीनवटा ट्याक्सीमा ठक्कर दिएको थियो, जसमा ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ। त्यस्तै, ग १ ज २२४१ नम्बरको ट्याक्सीको अगाडिको भागमा र ग १ ज ४१८० नम्बरको ट्याक्सीको बम्पर र सिसा फुटेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।
दुर्घटनामा बसका चालक ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ।
विद्यार्थीहरू सकुशल
बसमा सवार २० जना विद्यार्थीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ। यस घटनाले पोखराको घारीपाटन चोकमा केही समयका लागि अफरातफरीको स्थिति बनेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।