चितवन- बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ।
भरतपुर विमानस्थलबाट भारतीय सेनाको जहाजले २५ शवलाई गोरखपुर लगेको छ। बसका चालक र सहचालकको शव भने एम्बुलेन्सद्वारा पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
बस दुर्घटना र घाइतेहरूको उपचार
गत शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरा क्षेत्रबाट मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका थिए, जसको उपचार हाल काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
शव भारत फिर्ती
दुर्घटनामा मृत्यु भएका २७ जनाको शव पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो। शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आएर घाइतेहरूसँग भेट गरेकी थिइन्। उनले पछि भरतपुर गई शव जिम्मा लिएर भारत फिर्ता पठाएकी हुन्। बसका चालक र सहचालकको घर नेपाली सीमाबाट नजिक रहेकाले उनीहरूको शव एम्बुलेन्सबाट पठाइएको जानकारी प्राप्त भएको छ।