काठमाडौं - सरकारले राष्ट्रिय परिचयपत्रका लागि विवरण भराएर परिचयपत्र नम्बर र भर्पाइ हराएकाहरुलाई अनलाइनबाट पुनः प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
परिचयपत्र नम्बर पुनः प्राप्ति सेवा
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै क्युआर कोड स्क्यान गरेर आफ्नो नागरिकताको विवरण राखेर पुनः परिचयपत्र नम्बर पाउन सकिने व्यवस्था गरेको जानकारी दिएको छ। राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरे पनि राष्ट्रिय परिचय नम्बर (एनआईएन) प्राप्त नभएका तथा विवरण दर्ता गर्दाका बखत प्राप्त भर्पा हराएका सेवाग्राहीले यस्तो सेवा लिन सक्नेछन्।
पोर्टल मार्फत सेवा उपयोग
यसका लागि विभागले सञ्चालन गरेको पोर्टलमा नागरिकताको विवरण प्रविष्टि गरी आफ्नो राष्ट्रिय परिचय नम्बर तथा भर्पाइ प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। विभागले पोर्टलको क्युआर कोड समेत सार्वजनिक गरेको छ, जसको माध्यमबाट यो सेवा लिन सकिन्छ।
नारायणहिटी दरबार परिसरबाट सेवा
विभागले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरी विभिन्न कारणले थप रुजु वा ‘इन प्रोग्रेस’मा रहेका व्यक्तिहरुको विवरण विभागबाट मात्रै हेर्दै आएकोमा अब सो सेवा विभाग अन्तर्गतको नारायणहिटी दरबार परिसरबाट लिन सकिने जानकारी दिएको छ।
देशभर विवरण संकलन र वितरण
विभागका अनुसार अहिले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, ५४ वटा इलाका प्रशासन कार्यालय, १ सीमा प्रशासन कार्यालय तथा विभिन्न स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण भइरहेको छ।
हेर्नुहोस् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना:
