श्रीकृष्ण जन्माष्टमी वैदिक सनातन धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण पर्व हो। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय, अत्याचार, र राक्षसी प्रवृत्तिबाट मानवताको रक्षा गर्नु भएको पौराणिक मान्यता छ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएकोले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
जन्माष्टमीको पूजाआराधना र धार्मिक परम्परा
जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिन्छ। विशेष गरी महिला र पुरुषहरू यस दिन व्रत बस्छन् र रातभर जाग्राम बस्ने परम्परा रहेको छ। पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा यस अवसरमा ठूलो मेला लाग्ने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण पूजापाठ मात्र गरिनेछ।
ललितपुर र काठमाडौँमा विशेष व्यवस्था
ललितपुर महानगरपालिकाले यस वर्ष मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाएको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड नगरी विधिपूर्वक पूजा आराधना गर्ने तयारी गरिएको छ। उत्तरी भेगको बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा पनि पूजा मात्र गरिने व्यवस्था गरिएको छ।
श्रीमद्भागवतगीताको महिमा
श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई उपदेश दिने क्रममा व्यक्त 'श्रीमद्भागवतगीता' पवित्र ग्रन्थ मानिन्छ। गीता विश्वमा सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको धार्मिक ग्रन्थ हो। यस ग्रन्थले सत्यको पक्षमा लाग्नेको रक्षा र असत्यको पक्षमा लाग्नेको संहार गर्ने सिद्धान्त प्रतिपादन गरेको छ।
श्रीकृष्णको स्वरूप सिँगार्ने प्रचलन
नेपाली समुदायमा घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि बढेको छ। विभिन्न विद्यालयले पनि यस पर्वमा बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर मनाउने गरेकामा यस वर्ष शैक्षिक संस्था बन्द भएकाले त्यस्तो कार्यक्रम नगर्ने निर्णय गरिएको छ।