बलुचिस्तान - दक्षिण-पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरूले सवारी साधनहरूलाई रोकी यात्रुहरूलाई जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन्। आक्रमण बलुचिस्तानको एक राजमार्गमा रातभर भएको थियो, जहाँ साम्प्रदायिक, जातीय, र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए र पञ्जावबाट आएका व्यक्तिहरूलाई लक्षित गर्दै गोली चलाएका थिए।
बीएलएले आक्रमणको जिम्मेवारी लियो
बलुच लिबरेशन आर्मी (बीएलए) नामक आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी लिएको बीबीसीले उल्लेख गरेको छ। एक वरिष्ठ स्थानीय अधिकारी नजिबुल्लाह काकरले एएफपीलाई जानकारी दिँदै भनेका छन्, "आतंकवादीहरूको संख्या ३० देखि ४० को बीचमा थियो। उनीहरूले २२ वटा गाडी रोके, पञ्जाव जाने सवारी साधनहरूको निरीक्षण गरे र पञ्जावका व्यक्तिहरूलाई पहिचान गरी गोली हाने।"
प्रधानमन्त्रीको प्रतिक्रिया
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विज्ञप्ति जारी गर्दै यस आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा व्यक्त गरेका छन्। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त भए पनि यो सबैभन्दा कम विकसित क्षेत्र हो।
पृथकतावादी गतिविधिहरू
बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पञ्जाव र सिन्द्धिहरूमाथि आक्रमणहरू तीव्र बनाएका छन्। उनीहरूले नाफा बाँडफाँड नगरी यस क्षेत्रको शोषण गरेको आरोप लगाउँदै विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन्। गत अप्रिलमा पनि बलुचिस्तानमा नौ जना यात्रुहरूलाई बसबाट उतारेर परिचय पत्र जाँच गरेपछि गोली हानी मारिएको थियो।