काठमाडौँ – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ।
दिउँसो २:४५ बजेको समयमा बागमती नदीको जलसतह सर्तकता तह पार गर्दै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध
महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा लगातार बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस क्षेत्रका बासिन्दालाई बाढीको सम्भावना रहेको र थप जोखिमबाट बच्न सावधानी अपनाउन महाशाखाले विशेष ध्यान दिन आग्रह गरेको छ।
गोरखा र सिन्धुपाल्चोकमा पनि वर्षा र पहिरोको सम्भावना
गोरखाको बारपाक आसपास क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यम वर्षा भएको छ र थप वर्षा हुने अनुमान रहेको छ। महाशाखाले बुढीगण्डकी र दरौँदी नदी तथा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे लगायतका क्षेत्रहरुमा पनि जलसतह बढ्नसक्ने र भीरालो क्षेत्रमा पहिरोको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ।
हाल काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा भैरहेको र जलसतह बढिरहेको सन्दर्भमा सम्भावित बाढी र पहिरोको जोखिमबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने देखिन्छ। विशेष गरी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले पुनः अनुरोध गरेको छ।