न्युजिल्याण्डको डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडले ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ भनी कारोबार गर्दै आएको डेरी उत्पादनले झूटो दाबी गरेको आरोपमा वाणिज्य आयोगबाट कारबाहीमा परेको छ। कम्पनीले भारतबाट आयातित नौनी घ्यूलाई न्युजिल्याण्डमा उत्पादन भएको भनी झूटो प्रचार गरेको कारण दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरिएको छ।
ग्राहकलाई भ्रममा पारेको आरोप
ह्यामिल्टनस्थित यस कम्पनीले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ग्राहकहरूलाई ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादनजस्तो दाबी गर्दै झूटो प्रचार गरेको वाणिज्य आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ। न्युजिल्याण्डको कृषि(सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ, तर यो झूटो प्रचारले ग्राहकलाई भ्रममा पारेको आयोगको भनाइ छ।
फर्नमार्क लोगोको दुरुपयोग
वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नका अनुसार, मिल्कियोले न्युजिल्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्नका लागि प्रतिष्ठित फर्नमार्क लोगोको दुरुपयोग गरेको पाइएपछि यो जरिवाना गरिएको हो। कम्पनीले फर्नमार्क लोगो र लाइसेन्स नम्बरको प्रयोगको लागि गलत र अपूर्ण जानकारी प्रस्तुत गरेको थियो।
कानूनी उल्लङ्घन स्वीकार
मिल्कियोले न्युजिल्याण्डको ‘फेयर ट्रेडिङ एक्ट’ को धारा १५ उल्लङ्घन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगोको प्रयोग गरेको स्वीकार गरेको छ। आयोगले अन्य कम्पनीहरूलाई न्युजिल्याण्ड ब्रान्डको नाममा झूटो दाबी नगर्न चेतावनी दिएको छ।