कास्कीको वीरेठाँटी हुँदै म्याग्दीको घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई स्पेनिस नागरिकमध्ये एक पुरुषको शव फेला परेको छ भने एक महिला अझै बेपत्ता छिन्।
भदौ ६ गते नेपाल प्रवेश गरेका इरिक कासानोभास र मोलास जुन्का मेसी नामक दुई स्पेनिस नागरिकले भदौ ९ गते अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटी चेकपोस्टमा नाम टिपाएका थिए। उनीहरु अन्नपूर्ण संरक्षण आयोजनाको ट्रेकिङ रुट हुँदै घोरेपानीतर्फ जाँदै थिए।
खोजी कार्य र फेला परेका सामाग्री
तिखेढुंगास्थित मौजा खोलानजिकै एक बटुवाले उनीहरुको रुकस्याक झोला, मोबाइल, टोपी, टिसर्ट लगायतका कपडा र ट्रेकिङ सामाग्री देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। सोही आधारमा खोजी कार्य अघि बढाइएपछि मंगलबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले एक पुरुषको शव फेला पारेको हो।
घटनाको सम्भावित कारण
घटनाको दिन मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले गरेका छन्। शव फेला परेको स्थान झोलासहितको सामाग्री भेटिएको ठाउँभन्दा करिब डेढ किलोमिटर तल रहेको जनाइएको छ।
अवस्था र थप कार्य
शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ भने बेपत्ता महिलाको खोजी कार्य जारी रहेको एसपी थापाले जानकारी दिएका छन्।