राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार टुँडिखेलमा भएको घटनाबारे आफ्नो धारणा राख्दै दुई तिहाईको सरकारलाई यसलाई एक ठुलो घण्टीको रूपमा लिनुपर्ने बताएका छन्। मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नागरिकहरूले राजनीतिलाई चासोका साथ हेर्न थालेको र अब कुनै पनि कुरा सजिलै चल्न नसक्ने संकेत दिएको बताए।
दुई तिहाईको सरकारलाई ठुलो घण्टी
लामिछानेले टुँडिखेलमा भएको नारावाजीको विषयमा बोल्दै दुई तिहाईको सरकारलाई यो भन्दा ठुलो घण्टी अरु केही नहुने बताए। "दुई तिहाईको सरकारलाई यो भन्दा ठुलो घण्टी अरु के बज्ने होर?" उनले भने। यसबाट सरकारलाई जनताका आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने सन्देश दिएको उनको धारणा थियो।
नागरिकहरूको हस्तक्षेप सुरु
लामिछानेका अनुसार, नागरिकहरूले अब राजनीतिमा सक्रिय रूपमा हस्तक्षेप गर्न थालेका छन्। "राजनीतिकरुपमा हामीले हस्तक्षप गर्न आयौँ, आम नागरिकले पनि हस्तक्षेप गर्न अब सुरु गरे भन्ने संकेतका रुपमा बुझ्नुपर्छ," उनले भने। यो घटनाले जनताको जागरूकता र सक्रिय सहभागिताको संकेत दिएको बताए।
सुधार गर्नुपर्ने सन्देश
लामिछानेले जनताले हरेक कुरामा ध्यान दिइरहेको र अब सुधार गर्न बाहेक अरु विकल्प नभएको स्पष्ट सन्देश दिएको धारणा व्यक्त गरे। "जनताले हरेक चिज हेरिरहेका छन् भन्ने कुराको स्पष्ट सन्देश गत चुनावमा हामीले पनि देखाएको हो," उनले भने, "अब अरु हेर्न बाँकी केही पनि छैन, सच्चिनु सुध्रिनु बाहेक केही छैन।