स्मार्टफोनको मोह मानिसहरूमा यति बढेको छ कि यो रहर पूरा गर्नका लागि उनीहरूले परिवारलाई विभिन्न तरिकामा दबाब दिन पनि तयार भएका छन्।
भारतमा एक किशोरले आफ्नो आमालाई आइफोन किनाउन बाध्य पार्न तीन दिनसम्म अनसन बसेको घटना अहिले चर्चामा छ।
अनसन बस्ने किशोरको कथा
भारतको एक स्मार्टफोन पसलले खिचेको छोटो भिडियो गत हप्ता भाइरल भएको छ। उक्त भिडियोमा एक किशोरले नयाँ आइफोन किनिदिन आमासँग माग गर्दै तीन दिनसम्म अनसन बसेको स्वीकार गरेको छ।
आइफोन किनिदिने ती महिलाले मन्दिर बाहिर फूल बेचेर जीविका चलाउने बताइएको छ। भिडियोमा उनको अनुहारको हाउभाउले उनका संघर्ष र गरिबीलाई झल्काउँछ।
स्मार्टफोनको मोह र सामाजिक बहस
सोशल मिडियामा निकै चर्चित बनिरहेको उक्त भिडियोले समाजमा स्मार्टफोन लगायतका ग्याजेटलाई प्रतिष्ठाको प्रतीकको रूपमा हेर्ने चलनसँगै नयाँ पुस्तामा बढ्दै गएको अधिकारवादी र गैरजिम्मेवारी आचरणका विषयमा चर्को बहसको सिर्जना गरेको छ।
भिडियोमा ती महिलाले भनेकी छिन्, "मैले मन्दिरबाहिर फूल बेच्ने काम गर्दछु। छोराले तीन दिनसम्म खाना नखाएपछि मैले उसलाई फोन किन्न पैसा दिएँ। अहिले म खुसी छु। तर छोराले फोन किन्नका लागि खर्चिएको उक्त पैसा कमाएर फिर्ता ल्याओस् भन्ने चाहन्छु।"
सामाजिक सञ्जालको प्रतिक्रिया
ती किशोरले आइफोनको लागि आमाप्रति गरेको व्यवहार र आमालाई दिएको आर्थिक र भावनात्मक यातनाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, "जब तपाईं बेरोजगार हुनुहुन्छ भने आइफोन जस्तो महंगो फोनमा यति धेरै पैसा खर्च गर्नुको कुनै तुक छैन।"