काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै देशको भविष्यप्रति डर देखाउने टिप्पणीका लागि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले प्रचण्डको भनाइप्रति गम्भीर असहमति जनाउँदै भने, “धर्म–पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला! तर्साउन खोज्नु भएको होला।”
"नेपाली नेताहरू शेख हसिनाझैं भाग्ने दिन नआओस्"
थापाले चेतावनी दिँदै भने, “नेपाली नेताहरू बंगलादेशकी शेख हसिनाझैं भाग्ने अवस्था आए, प्रचण्ड मात्रै चैनले बस्न सक्ने अवस्था हुने छैन्। जिम्मेवार नेताहरूले संयमित भएर बोल्नुपर्ने आवश्यकता छ।” उनले थपे, “सामाजिक विष्फोटको सम्भावना त छ, तर नेताहरूलाई आफ्नो जिम्मेवारी स्मरण हुनुपर्ने हो।”
"प्रतिपक्षी सरकारको विरोधी हो, प्रणालीको होइन"
थापाले प्रतिपक्षी दलको भूमिकालाई स्पष्ट पार्दै भने, “अपोजिसन सरकारको मात्र विरोधी हो, प्रणालीको होइन। अपोजिसनले सरकारलाई घुँटा टेकाउन प्रयास गर्नु अवान्छित होइन, तर जिम्मेवार नेताहरूले राज्यको अंगको रूपमा काम गर्नुपर्छ।”
थापाले यस प्रसङ्गमा देशको राजनीतिक स्थिरता र नेताहरूको भूमिकालाई जिम्मेवारीपूर्वक वहन गर्न सबैलाई आह्वान गरेका छन्।