“हामी ठूलो मान्छे होइनौं। सबैले साहु भने पनि हामी धनी मान्छे पनि होइनौं। आम्दानी भनेको त्यही किरा मात्र हो। त्यो पनि सँधै भेटिँदैन। बाउआमाले पढ्नुभएको पनि छैन, बोल्न पनि जान्नुभएन। मलाई पहिलाको कुरा धेरै थाहा छैन, तर सुनेको छु। प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हुन्।
हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो। त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थिइन्। श्रीमती बित्नुभयो। त्यसपछि काका चीनको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो। मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो।
मेरो आमासँग बुबाको बिहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो। मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला। प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ, अनि मेरो आमालाई दिदी (आचे) भन्नुहुन्छ। हाम्रो घरमा जे पाक्छ, त्यही खाएर एउटै परिवार जसरी हुर्कनुभएको हो। सामाजिक सञ्जालमा आएजस्तो अन्याय गरिएको छैन।
पहिलेदेखिको चलन चाहिँ घरमा दुईटा छोरा मान्छे हुँदा, एउटाले घर व्यवहार र खेतीपाती हेर्ने, अर्कोले चाहिँ चौंरी हेर्ने। प्रकाशले चौंरी हेर्थे, मेरो बुबाले चाहिँ घर खेत हेर्थे।
हामी साना थियौं। हामीलाई स्याहारसुसार गरेर हुर्काउने नै प्रकाश दाइ हुन्। मलाई घरको कामहरू सिकाउने पनि उहाँ नै हो। मैले खास काका भन्नुपर्थ्यो वहाँलाई। तर सबैले पक्का भन्ने भएकाले म पनि पक्का भन्छु।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेनन्। हामीले पनि गरेनौं। तर बेला बेलामा बाउआमा खोज्न जान पाए हुन्थ्यो भन्ने गर्थे। बुबाआमाले पनि बाहिरी संसार खासै देख्नुभएको थिएन। कहाँ जाने!
प्रकाश घरको सदस्यजस्तै हो। हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ। घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानुपर्छ। हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जानुहुन्थ्यो।
गोठालाको चलन चाहिँ कस्तो भने, सिजन हुन्छ। गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ। रक्सी खाएर जिम्मा लिएपछि त्यो सिजन छोड्न मिल्दैन। वचन दिइसकेको हुन्छ। तपाईंहरूले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो। प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेका थिए। त्यही भएर पठाउन अफ्ठ्यारो मानेका हुन् मेरो बुबाले। १० दिनमा ल्याइदिनु भनेको हो। अनि तपाईंहरू पनि अन्जान मान्छे हुनुभयो। नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु! त्यही भएर त्यस्तो भनेका हुन्। साहु भएर त्यस्तो भनेको होइन।
अनि तलबको कुरामा चाहिँ, अब घर परिवारजस्तै भएपछि स्यालरी कसरी दिनु! के कुरा गर्नु!
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन। तर प्रकाश दाइले किरा टिप्दा, गाउँको मान्छेले केही भन्दैन। देखे नदेखे जस्तै गरिदिन्थे। अनि किरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थे घरकै लागि। अस्ति बाउआमा भेटेपछि पो, उसलाई मेरो पनि बाउआमा रहेछन् जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको। उसले जे कमाउँथे, हाम्रै घरको लागि खर्च गर्थे।
उललाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ। उसलाई जनावर एकदम मन पर्छ। उ घरमा आउँदा कुकुर बिरालाका छाउरा लिएर आउँछ। हरेक जनावर उसलाई मन पर्छ। माथि गोठतिर मान्छेहरूले चौंरीका बाच्छाबाच्छीलाई दूध खान दिँदैनन्। तर पक्का दाइले त्यस्तो गर्दैनन्। लुकीलुकी खान दिन्थे।
हामीले नागरिकता पनि बनाइदिन खोजेका थियौं। तर त्यही हो, मिलेन।
पाल्जोर भन्ने दाइ छ, अहिले फ्रान्समा छ। हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा। उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ। उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा। उ कुरा बुझ्ने छ। पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन। प्रकाशको बिहे पनि गरिदिन खोजेका थियौं गाउँमै। तर आफ्नो नागरिकता नभएपछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन।
बुबासँग कुरा भइराख्छ। बुबा पनि खुसी नै हुनुहुन्छ। यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि। सम्बन्धको हिसाबले छोड्न मन थिएन। तर उसको इच्छा।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेका छन्, अनि फ्रान्समा बस्ने दाइले २ लाख। उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेका छन् रे। दिए हुन्थ्यो। नागरिकता बने हुन्थ्यो। बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो। उसले हिमाली भेग बुझेको छ, भोजपुर बुझेको छैन। मेरो विचारमा त उ बाउआमाको मुख हेरेरै भोजपुर जान लागेको हो। उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेका छन्। केरुङ बस्ने काकाले, अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि, बिहे खर्च पनि दिन्छौं भनेका छौं।
म त अहिले सानो नै छु। तर पनि प्रकाश मेरो बुबाजस्तो मान्छे हो। उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु।”
श्रोतः हेर्ने कथाको फेसबुक पेज