लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजना अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास गरिएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणको मार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा १२ तले अस्पताल भवन निर्माणको प्रक्रिया सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार बिहान औपचारिक रूपमा शिलान्यास गरेका हुन्।
भारतीय र नेपाली निर्माण कम्पनीको सहकार्य
यस परियोजनामा प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगशनसँग २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको थियो। यो सम्झौताअनुसार अस्पताल भवनको निर्माण कार्य २०८५ साल पुससम्म सम्पन्न गर्नुपर्नेछ।
अस्पतालको ऐतिहासिक पृष्ठभूमि
विक्रम सम्वत् १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालको पुरानो भवन जीर्ण भएपछि अत्याधुनिक सेवासुविधा सहितको नयाँ भवन निर्माण गर्न लागिएको हो।
चालू आर्थिक वर्षमा बजेट बिनियोजन
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ। ठेक्का सम्झौतापछि निर्माण कम्पनीले भवन निर्माणका लागि ७० प्रतिशत पाइलिङ सम्पन्न गरेको छ, जसअन्तर्गत ७८५ पाइलिङ गर्नुपर्नेमा ४९० पाइलिङ सम्पन्न भइसकेको छ।
अत्याधुनिक भवन र सेवाहरू
नयाँ भवनको डिजाइन अनुसार, १२ तले अत्याधुनिक भवनमा बहिरङ्ग सेवा, आपतकालीन सेवा, र इनडोर सर्भिस कक्षहरू रहनेछन्। यस भवनमा ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका विशेषज्ञ सेवाहरू एउटै भवनबाट सञ्चालन हुनेछन्। माथिल्लो तलामा हेलिप्याड रहनेछ, जसबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ। साथै, क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन पनि निर्माण हुने योजना छ।
अस्पतालको सेवा र विस्तार
हाल लुम्बिनी प्रादेशिक अस्पतालमा ५२० शैय्याका साथ दैनिक २ हजारदेखि २,२०० बिरामीहरूको उपचार भइरहेको छ। सरकारी ३ सय र अस्पताल विकास समितिमार्फत् १ सय गरी ४ सय बेडको मात्र स्वीकृति पाएको भए पनि बिरामीको अत्यधिक चापका कारण १२४ बेड थप गरी सेवा दिइएको छ।
अस्पतालको नयाँ भवन निर्माणपछि यसले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
अस्पतालको भविष्य र महत्त्व
अस्पतालको नयाँ भवन निर्माणपछि बुटवललाई स्वास्थ्य सेवाको हबको रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। यसले समग्र क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास लिइएको छ।