काठमाडौं - कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित हुँदै पश्चिमतर्फ सर्दैछ, जसको प्रभावले देशभर नै वर्षा भइरहेको छ। यस क्षेत्रका कतिपय स्थानमा मध्यमदेखि भारी र केही ठाउँमा अति भारी वर्षा रेकर्ड गरिएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डमा उच्च सतर्कता
वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकोले नारायणगढ-मुग्लिन सडकखण्डमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्।
चक्रवातको असर: वर्षाको मुख्य कारण
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार, मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादलहरू र तिब्बतबाट आएका बादलहरूले नेपालमा वर्षा गराइरहेका छन्।
आकस्मिक बाढी र पहिरोको चेतावनी
विगत १२ घण्टामा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ। भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला लगायतका खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आजको मौसम पूर्वानुमान
वर्षा गराउने बादल अहिले कर्णाली र सुदूरपश्चिमसम्म फैलिएको छ। आज दिनभर र रातिमा वर्षा हुने सम्भावना रहेको छ भने भोलि (सोमबार) आजको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ।