काठमाडौं - सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा अहिलेसम्म ३६ जना नेपालीको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। तथापि, यो तथ्याङ्क अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
प्राप्त विवरण र फिर्ता गराइने प्रयासहरू
हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भन्दै खोजी र फिर्ताका लागि ३३१ वटा निवेदन परेको छ। यसमा घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएका व्यक्तिहरू समावेश छन्।
परराष्ट्र मन्त्रालयद्वारा पुष्टि गरिएका मृत्युहरू
हालसम्म मृत्यु भएको भनेर परराष्ट्र मन्त्रालयले पुष्टि गरेका ३६ जना नेपालीहरूमा राजकुमार रोका, शुक्रबहादुर तामाङ, भरतबहादुर शाह, देवन राई, प्रितम कार्की, गंगाराज मोक्तान, रूपक कार्की, सन्दीप थपलिया, कन्दन सिंह नागल, हरिप्रसाद अर्याल, राजकुमार गिरी, धनसिंह पुन, पूर्णबहादुर गुरुङ, सुन्दर मुक्तान, गंगाराम अधिकारी, पदमबहादुर घिमिरे, सञ्जय केसी, नवीन शाही, जितबहादुर वि.क., अनितकुमार साह, खगेन्द्र राईका मगर, विरवल राई, बलराम गुरुङ, तेजबहादुर शाही, सुरेन्द्र राना,, लालबहादुर बुढा, राज थारु, फुर्वा शेर्पा, सुरज वि.क., नेत्रबहादुर घर्ती, शङ्कर दमाई, साजन गुरुङ, घनश्याम परियार, शान्तबहादुर मोक्तान, सञ्जीव आचार्य र नवीन शाही छन् ।
मृत्यु प्रमाणित हुन बाँकी व्यक्तिहरू
नेपाली राजदूतावासबाट मृत्यु प्रमाणित हुन बाँकी रहेको व्यक्तिहरूमा विकाश राई, नेत्रबहादुर थापा, उदयराज थारु, प्रितम राई, ललित सिंह डोबाल, हेमकुमार मगर, तारा प्रकाश घर्ती र रामकुमार बुढा मगर रहेका छन्।
युक्रेनी सेनाको कब्जामा रहेका नेपालीहरू
सरकारी तथ्याङ्क अनुसार, हालसम्म युक्रेनी सेनाको कब्जामा ६ जना नेपाली रहेको जनाइएको छ। यसमा विवेक खत्री, सिद्धार्थ ढकाल, विकास राई, प्रितम पुन, सुजन सुवेदी, र ईश्वर लामिछाने समावेश छन्।
घाइते र स्वदेश फर्किएका नेपालीहरू
हालसम्म ५ जना घाइते भई उपचाररत रहेका छन् भने १६२ जना स्वदेश फर्किएको जनाइएको छ। डीएनए टेष्टका लागि २२ जनाको अनुरोध भएको छ, जसमा १५ वटा डीएनए टेष्ट नतिजा रुसको मस्कोस्थित नेपाली दूतावासमा पठाइएको छ।
रुसी सेनामा भर्ती भएका नेपालीहरूको स्थिति
रुसी सेनामा भर्ती भएका नेपालीहरूको यकिन संख्या सरकारले अझै पत्ता लगाउन सकेको छैन। रुसी सेनामा भर्ती भएर युद्धको क्रममा मृत्यु भएका ६१ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु भनिए पनि पुष्टि हुन बाँकी रहेको छ।
अभियान र सरकारसँगको छलफल
‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’की अभियन्ता कृतु भण्डारीले रुसी सेनामा भर्ती भएका ६९९ जनाको विवरण सङ्कलन गरेको र सरकारलाई हस्तान्तरण गरेको जानकारी दिएकी छिन्। साथै, उनीहरूले रुसी सेनामा आबद्ध ४२० जना नेपालीले ह्वाट्सएप ग्रुप मार्फत युद्ध मैदानबाट नियमित रूपमा विवरण, वस्तुस्थिति, र श्रव्यदृश्य सामग्री पठाउने गरेको जानकारी दिएकी छिन्।