काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरी एकपटक कडा रूपमा सम्झाएका छन्। आइतबार साँझ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मालाई अनुसन्धान गर्न प्रहरीले आनाकानी गरेको विषयमा सांसदलाई प्रधानमन्त्री ओलीको संरक्षण रहेको संकेत गर्दै बालेनले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।
एमाले कार्यकर्ताको आलोचना र बालेनको प्रतिक्रिया
बालेनको यस स्टाटसलाई लिएर एमालेका नेता तथा कार्यकर्ताहरूले उनको आलोचना गरेका थिए। उनीहरूले सर्वोच्च अदालतको आदेशको केबल थोरै भाग मात्रै सामाजिक सञ्जालमा भाइरल गराएका थिए। यसका जवाफमा बालेनले सोमबार पुनः स्टाटस लेख्दै, सांसद शर्माले आफूले गरेको कसुरका कारण जेल जान सक्ने सम्भावनाबाट बच्नका लागि अदालतमा मुद्दा हाल्न थालेको बताएका छन्।
सांसद शर्मामाथि कारबाहीको माग
बालेनले भनेका छन्, “महानगरले उनीविरुद्ध दायर गरेको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छैन। अदालतमा प्रवेश पनि गरेको छैन। हामीले उठाएको मुद्दा यही हो कि सांसद शर्माले गरेको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ।”
प्रधानमन्त्री ओलीप्रति व्यंग्य
बालेनले आफ्नो स्टाटसमा प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै भनेका छन्, “प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू, तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोस्। पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईजस्तै अरूको इशारामा चल्नुपर्ला।”