किंशासा – डेमोक्रेटिक रिपब्लिक अफ कांगोको राजधानी किंशासास्थित मकाला जेलमा सोमबार बिहान भएको आगलागी र त्यसपछिको भागदौडमा १२९ कैदीको मृत्यु भएको छ। घटनामा २४ कैदीको मृत्यु गोली लागेर र अन्यको मृत्यु धक्का मुक्की र दम घुटेर भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
आगलागी र भागदौडको घटना
सोमबार बिहान करिब २ बजे जेलको प्रशासन कार्यालयमा अचानक आगलागी हुँदा फूड डिपो र अस्पताल समेत क्षतिग्रस्त भएको थियो। आगो नियन्त्रण गर्न सुरक्षाकर्मीहरू प्रयासरत रहेका बेला कैदीहरूले मौका पारी जेलबाट भाग्ने प्रयास गरेका थिए। जेल सुरक्षामा तैनात प्रहरीहरूले कैदीहरूलाई रोक्न चेतावनी दिँदा पनि कैदीहरूले अवज्ञा गरेपछि फायरिङ गरिएको थियो। यस क्रममा गोली लागेर २४ कैदीको मृत्यु भएको थियो भने बाँकीको मृत्यु भागदौड र दम घुटेर भएको थियो।
सरकारद्वारा घटनाको छानबिन आदेश
कांगोका गृह मन्त्री शबानी लुकू र आन्तरिक मामिला मन्त्री जैक्विमिन शबानीले घटनाबारे जानकारी दिँदै सरकारद्वारा तुरुन्तै छानबिनको आदेश जारी गरिएको बताएका छन्। उनले अग्निकाण्ड, जेल ब्रेक, र फायरिङ सम्बन्धी रिपोर्ट गरिएको जानकारी दिएका छन्।
क्षमता भन्दा बढी कैदी राखिएको तथ्य
मकाला जेलमा १५०० कैदी राख्ने क्षमता भए पनि हाल त्यहाँ १२,००० भन्दा बढी कैदी रहेको पाइएको छ। अधिकांश कैदीहरूको मुद्दा अझैसम्म ट्रायलमा पनि नपुगेको बताइएको छ। यस घटनाले सरकार, प्रहरी र जेल प्रशासनको लापरवाहीलाई उजागर गरेको छ। कांगो, खनिज पदार्थहरूको धनी भए पनि संसारकै गरिब देशहरूमा पर्ने, ३० जून १९६० मा स्वतन्त्र भएको भए पनि, अहिले पनि अत्यधिक गरिबीको मारमा परेको मुलुक हो।
सरकार विपक्षीको निशानामा
मकाला जेलको यो घटना पछि कांगो सरकार विपक्षीको निशानामा परेको छ। अत्यधिक संख्या भन्दा बढी कैदी राख्नुपर्ने बाध्यता र समयमै न्यायिक प्रक्रिया नचलाईएको आरोपले सरकारको लापरवाहीको आलोचना भइरहेको छ।