लमजुङ - बाल यौन दुराचारको आरोपमा लमजुङ प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ। पक्राउ पर्ने शिक्षक भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङ हुन्।
९ वर्षीया बालिकामाथि यौन दुराचारको आरोप
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। बुधवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी गुरुङविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।
अवांछित गतिविधि कोठामा भएको प्रहरीको दाबी
प्रहरीले जनाएअनुसार सोमबार बिहान गुरुङले आफ्नो कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेका थिए। ती बालिका पढ्न कमजोर भएको भन्दै आइतबार नै शिक्षकले कोठामा बोलाएका थिए। सोमबार बिहान पनि बोलाएर उक्त अवांछित गतिविधि भएको प्रहरीको दाबी छ।
अभिभावकको उजुरीपछि पक्राउ
बालिकालाई शिक्षकको कोठामा अभिभावकले बाटोसम्म पुर्याएका थिए। घर फर्केर बालिकाले शिक्षकले गरेको गतिविधिबारे जानकारी दिएपछि अभिभावकले सोमबार नै प्रहरीमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरीले तत्कालै मनीष गुरुङलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार ती शिक्षकले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।