असम - असमका २२ वर्षीय विशाल फुकनमाथि ३ हजार ५ सय २० करोड रुपैयाँको ठुलो वित्तीय घोटालाको षड्यन्त्र रचेको आरोप लागेको छ। डिब्रूगढ निवासी फुकनले आफ्नो विलासी जीवनशैली र उच्च खर्चका कारण धेरैको ध्यान आकर्षित गरेका थिए।
६० दिनमा ३०% प्रतिफलको लोभ
फुकनले असम र अरुणाचल प्रदेशका लगानीकर्तालाई ६० दिनमा ३०% प्रतिफल दिने प्रलोभन देखाएर आकर्षित गरे। ठगी गतिविधिहरूबाट उनले फार्मास्युटिकल्स, उत्पादन, र निर्माण क्षेत्रमा चारवटा कम्पनी स्थापना गरेको आरोप छ। उनले असमिया फिल्म उद्योगमा पनि लगानी गर्दै विभिन्न सम्पत्तिहरू किनेका थिए।
शेयर ठगी प्रकरणले गर्यो रहस्य खुलासा
गुवाहाटीमा ठुलो शेयर ठगी प्रकरण बाहिरिएपछि फुकनको धोखाधडी उजागर भएको हो। डीबी स्टक ब्रोकर कम्पनीका मालिक दीपांकर बर्मन हराएपछि छानबिन तीव्र भएको थियो र फुकनको गतिविधिमा संका बढेको थियो।
गैरजमानती मुद्दामा अभियोग
पुलिसले २ सेप्टेम्बरको रात डिब्रूगढस्थित फुकनको घरमा छापा मारेर उनलाई र उनका म्यानेजर विप्लबलाई पक्राउ गर्यो। दुबैजनालाई गैरजमानती मुद्दामा अभियोग लगाइएको छ। पुलिसले ठगीसम्बन्धी कागजातहरू पनि बरामद गरेको छ।
असमका मुख्यमन्त्रीले दिए छानबिनको आदेश
असमका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले ठगी प्रकरणको गम्भीरता बुझ्दै सबै ट्रेडिंग धोखाधडी मामिलाको व्यापक छानबिन गर्न आदेश दिएका छन्। उनले लगानीकर्ताहरूलाई सावधानी अपनाउन चेतावनी दिएका छन्।