वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मो. एनामुल हकको अदुरदर्शी निर्णयका अहिले अस्पतालको सेवा नै पुर्ण रुपमा अस्तव्यस्त भएको छ।
उनले करिव २ महिनाअघि अस्पतालका ४६ जना कर्मचारीलाई बर्खास्त गरेका थिए। उनको यस निर्णयका कारण अहिले नारायणी अस्पताल दुरावस्थाबाट गुज्रीरहेको छ। जसको प्रत्यक्ष पर्सा र आसपासका जिल्लाबाट उपचारका लागि नारायणी अस्पताल पुग्ने आम सर्वसाधारणमा परेको छ।
४६ कर्मचारीको बर्खास्ती, सेवामा ठूलो असर
२१ जेठमा निकालिएको सूचनामा ११ जना मेडिकल अधिकृत, १ जना दृष्टि विशेषज्ञ, १२ स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, १ बायोमेडिकल टेक्निसियन, ५ रेडियोग्राफर, १ फर्मेसी सहायक, ३ अहेब, ७ कार्यालय सहयोगी, र २ जना स्वीपरको नाम समावेश गरिएको थियो। यद्यपि, अस्पताल निकट स्रोतका अनुसार करिब ६० जना कर्मचारी निकालिएको दाबी गरिएको छ।
सघन उपचार कक्ष र आकस्मिक सेवा प्रभावित
कर्मचारी अभावका कारण १८ शैय्याको सघन उपचार कक्षलाई १० शैय्यामा झारिएको छ भने मुटु सघन उपचार कक्ष नै बन्द गरिएको छ। मुटु उपचारको महत्वपूर्ण सेवा बन्द हुँदा निजी अस्पताललाई फाइदा पुगेको बताइन्छ।
आकस्मिक कक्षमा पनि २५ शैय्यामा मात्र १० शैय्या पूर्ण रूपमा संचालनमा छन्। कर्मचारी अभावका कारण आकस्मिक कक्ष दैनिक १००–१५० बिरामी मात्र सेवा दिन सक्षम रहेको छ। यसअघि आकस्मिक कक्षमा ३ जना चिकित्सक र ४ जना हेल्थ असिस्टेन्ट रहे पनि अहिले १ चिकित्सक र २ हेल्थ असिस्टेन्टको भरमा सेवा संचालन भइरहेको छ।
एनआईसीयु र शल्यक्रिया सेवामा असर
अस्पतालको एनआईसीयु (नवजात शिशु सघन उपचार कक्ष) १३ शैय्याबाट घटेर ८ शैय्यामा झरेको छ। त्यस्तै, पोष्टअपमा नर्सिङ स्टाफको कमीका कारण दैनिक २०–२५ शल्यक्रियाबाट बच्चा जन्माउने सेवा पनि प्रभावित भएको छ र अहिले ८–१० शल्यक्रियामा मात्र झरेको छ।
ओपीडी फार्मेसी बन्द, बिरामीलाई समस्या
ओपीडी फार्मेसी सेवा पनि बन्द भएपछि बिरामीहरूलाई बाहिरी फार्मेसीमा महँगो मूल्यमा औषधि किन्न बाध्य हुनुपरेको छ। यो अवस्था बिरामीहरूको लागि ठूलो आर्थिक भार बनेको छ।
अस्पताल विकास समितिको विरोध
अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले निमित्त मेसु हकले आफूखुसी निर्णय गरेर एकैपटक कर्मचारी हटाएपछि अस्पतालको सेवा अस्तव्यस्त भएको बताएका छन्। विकास समितिले विधि र प्रक्रियाको पालना नगरी गरिएको यो कदमको विरोध गर्दै विज्ञप्ति निकालेको छ।
स्वास्थ्यकर्मी अभावको कारण सेवामा समस्या
डा. हकले अस्पतालको शैय्या अकुपेन्सी १००% रहेको बताए पनि स्वास्थ्यकर्मीको कमीले सेवामा केही समस्या आएको स्वीकार गरेका छन्। उनले स्टाफ नर्सको कमी पूर्ति गर्न मन्त्रालयमा प्रक्रिया अघि बढेको बताए।
तर, अस्पताल विकास समितिले जनशक्ति अभावका कारण सेवामा समस्या देखिएको भन्दै यसबारे सरसल्लाह गरेर अघि बढ्नुपर्ने बताए।