ढोरपाटन - बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा बिहीबार राति आएको बाढीले दुई जनाको ज्यान गएको छ भने एक व्यक्ति अझै बेपत्ता भएका छन्। बाढीले ध२प ८०१० नम्बरको मोटरसाइकल र ध१प ९९९६ नम्बरको स्कुटर बगाएको छ।
दुई जनाको मृत्यु, एक जना बेपत्ता
बाढीमा परी बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, बाढीले बगाएर उनीहरूको शव करिब दुई सय मिटर तल फेला परेको थियो।
बेपत्ता व्यक्तिको खोजी जारी
सोही बाढीमा परी २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन्। बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ तर निरन्तर वर्षा भइरहेकाले खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जनाएको छ। मृतकहरूको शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ।