काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको छ। प्रतिवेदनमा जहाजको तौल र स्पीडको सन्तुलन नमिल्दा दुर्घटना भएको उल्लेख गरिएको छ।
टेकअफको समयमा तौल र स्पीड सन्तुलन नमिलेको
प्रतिवेदनअनुसार, ८ साउनमा मर्मतको लागि पोखरा जाँदै गर्दा सौर्य एयरलाइन्सको सिआरजे–२०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा सन्तुलन गुमाएर दुर्घटना भएको हो। टेकअफ पछि केही सेकेन्डमै जहाज दाहिनेतर्फ ढल्किएर पखेटाले भुइँ छुँदै दुर्घटनामा परेको थियो।
मर्मतका सामग्री राख्ने प्रक्रियामा त्रुटि
प्रतिवेदनमा उल्लेख छ कि मर्मतका लागि लगिएका सामग्री जहाजमा राम्रोसँग बाँधिएको थिएन, जसका कारण टेकअफ गर्दा ती सामग्री सरेर सेन्ट्रल ग्राभिटीमा समस्या आएको थियो। साथै, जहाजको तौलसम्बन्धी मापदण्ड पनि पालना नगरेको देखिएको छ।
सुरक्षा सिफारिस र सुधारका उपायहरू
दुर्घटना जाँचबुझ आयोगले तत्कालै सुधार गर्नुपर्ने तीनवटा सुरक्षा सिफारिसहरू अघि सारेको छ। पहिलो, सबै वायुसेवा सञ्चालकले आफ्नो स्पीडकार्ड र आरटिओडब्लू चार्टहरू पुनरावलोकन गर्नुपर्ने, दोस्रो, सामान र कार्गोको तौल र लोडिङ प्रक्रियामा कडाइ गर्नुपर्ने, र तेस्रो, नेपाल नागरिक उड्डयन प्राधिकरणले गैरआम्दानी उडानहरूका लागि छुट्टै कार्यविधि बनाउनुपर्ने सुझाव दिएको छ।
४ वर्षका बालक पनि सौर्यको कर्मचारी ? जहाज दुर्घटना भएपछी खुल्यो यस्तो रहस्य
दुर्घटनाका तीन प्रारम्भिक तथ्य
- विमान दुर्घटना भएको स्थलमा गरिएको अनुगमन, ९एन एएनएम सिआरजे दुई सय विमानको अध्ययन र सौर्य एयरलाइन्सका कर्मचारीसँगको अन्तर्वार्ता गरिएको थियो । सञ्चालकले जहाजको सञ्चालन निर्देशिकाबमोजिम जहाजमा तौलसम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ ।
- पाइलटलाई आकस्मिक समयमा अपनाउनुपर्ने विधि उल्लेख गरिएको क्विक रिफरेन्स ह्यान्डबुक दिइएको हुन्छ । यो ह्यान्डबुकमा उल्लेख गरिएको जहाजको गति (भी स्पिड)को सीमा र फ्लाइट डेटा रेकर्डर (एफडिरआर)मा रेकर्ड भएको तथा उडानतालिकामा उल्लेख भएको जहाजको गतिमा एकरूपता नपाइएको अध्ययनमा खुलेको छ ।
- १८,५०० किलो तौलसहितको (टेकअफ वेट) उडान गर्दा पाइलटले प्रयोग गर्ने स्पिड कार्डमा उल्लेख भएको जहाजको गति नै गलत देखिएको अध्ययनले देखाएको छ । टेकअफ वेटमा जहाजको तौल, इन्धनको तौल, यात्रु, कार्गाे र पाइलटसँगै उडानमा सहभागी एयरलाइन्सका कर्मचारीको तौल समावेश हुन्छ । १८,५०० तौल (टेकअफ वेट)लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत लिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको अध्ययनले देखाएको छ ।