काठमाडौं – नारायणी अस्पतालका निमित्त निर्देशक डा. मो. एनामुल हकले तलब नपुगेर निकालेका ४६ जना कर्मचारीमध्ये झण्डै एक दर्जनलाई गोप्य रुपमा पुनः काममा फर्काएको खुलासा भएको छ। अस्पताल स्रोतका अनुसार, स्थानीय नेताहरूको दबाबमा र व्यक्तिगत सम्बन्धको कारण केही चिकित्सक, स्टाफ नर्स, र कार्यालय सहयोगीलाई पुनः नियुक्त गरिएको हो।
४६ जना कर्मचारी निकालेको नाटक
डा. हकले आर्थिक अभावका कारण ४६ जना कर्मचारी निकालिएको सार्वजनिक रुपमा दाबी गरेका थिए। उनले ९ महिनादेखि तलब खुवाउन नसकेको कारण कर्मचारी निकालिएको बताएका थिए। यद्यपि, उक्त दाबीको विपरीत, उनले भित्रभित्रै केही कर्मचारीलाई पुनः काममा लगाउने काम गरेका छन्।
नेताहरूको सिफारिसमा पुनः नियुक्ति
निकालिएका मध्ये ४ जना मेडिकल अधिकृत, फार्मेसी सहायक, केही स्टाफ नर्स, र कार्यालय सहयोगीलाई पुनः काममा फर्काइएको छ। उदाहरणका लागि, डा. प्रियंका यादवलाई पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादवको सिफारिसमा पुनः जागिरमा फर्काइएको हो भने, डा. जफर इमाम सिनियर सर्जनका भाइ हुन्।
फार्मेसी विभागमा नयाँ नियुक्तिहरू
फार्मेसी विभागमा पनि पुनः नियुक्ति गरिएको छ। पहिले निकालेका रन्जित साहको स्थानमा महबुब आलम, भोला ठाकुर, र रिंकु चौरसियालाई काममा लगाइएको छ। रिंकु चौरसिया पर्साका नेता अजय चौरसियाको सिफारिसमा नयाँ कर्मचारीका रुपमा भर्ना भएका छन्।
गोप्य भर्ना केन्द्रको आरोप
अस्पताल स्रोतले जनाएअनुसार, डा. हकले सार्वजनिक रुपमा कर्मचारी लिने प्रक्रिया घोषणा गरे पनि भित्रभित्रै नेताहरूका दबाबमा कर्मचारीलाई पुनः भर्ना गरिरहेको पाइएको छ।