काठमाडौं – क्रिकेटको लोकप्रियता विश्वभर तीव्र रूपमा फैलिँदै गएको छ। अब यो सीमित देशहरूमा मात्र नभएर विश्वभर विभिन्न राष्ट्रहरूमा खेल्न थालिएको छ।
सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने ओलम्पिक खेलमा पनि क्रिकेट समावेश गरिने घोषणा भइसकेको छ। यसरी १२८ वर्षपछि क्रिकेट पुनः ओलम्पिक खेलमा फर्कन लागेको छ। तर, अहिले क्रिकेट प्रेमीहरूलाई निराश पार्ने एउटा खबर आएको छ। इटलीको मोनफाल्कोन शहरले क्रिकेट खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
क्रिकेट खेल्नेलाई १५ हजार रुपैयाँ जरिवाना
मोनफाल्कोन शहरका मेयरले क्रिकेट खेल्न निषेध गर्ने निर्णय गरेका छन्। यस निर्णयअनुसार, यदि कोही व्यक्ति उक्त शहरमा क्रिकेट खेल्दै फेला गरेको परेमा उसलाई १०० युरो (करिब १५ हजार रुपैयाँ) जरिवाना लाग्नेछ। मोनफाल्कोन शहरमा करिब ३० हजार जनसंख्या छ, जसको एक तिहाई विदेशी मूलका छन्। तीमध्ये धेरैजसो बंगलादेशी मुस्लिमहरू हुन्, जो सन् १९९० को दशकमा क्रूज जहाज बनाउने कामको सिलसिलामा यो शहरमा आएका थिए।
मेयरको तर्क – सांस्कृतिक विरासत जोगाउनु आवश्यक
मोनफाल्कोन शहरका मेयर अन्ना मारिया सिसिन्टले यो निर्णयको बचाउ गर्दै आफ्नो शहरको सांस्कृतिक विरासत र ईसाई मूल्यहरूको रक्षा गर्न यो कदम चाल्नु परेको बताएकी छिन्। बीबीसीसँगको कुराकानीमा उनले भनेकी छिन्, “हाम्रो इतिहास मेटिँदै गएको छ। यसले अब कुनै अर्थ राख्दैन जस्तो लाग्छ। अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ।”
मुस्लिम विरोधी धारणा र विवाद
यो निर्णय पछाडि अर्को एउटा विवादास्पद कारण पनि छ। मेयर सिसिन्टलाई मुस्लिम विरोधी मानिएको छ। उनले यसअघि बंगलादेशी आप्रवासीहरू बस्ने चोकमा राखिएका बेन्चहरू हटाएको आरोप पनि लागेका छन्। त्यस्तै, मुस्लिम महिलाहरूले समुद्री किनारामा लगाउने धार्मिक पोशाकलाई लिएर उनले नकारात्मक टिप्पणी गरेकी छिन्। यस विचारका कारण उनलाई धम्की पनि आइरहेको छ।
सुरक्षा र ठाउँको अभाव
मेयरले क्रिकेटमा प्रयोग गरिने बललाई खतरनाक भन्दै यसले कसैलाई चोट पुर्याउन सक्ने बताएकी छिन्। उनी भन्छिन् कि शहरमा खेलका लागि आवश्यक ठाउँ नभएकाले पनि क्रिकेट खेल्न रोक लगाउनु परेको हो।