अमेरिकी सरकारले सेप्टेम्बर ५, २०२४ देखि दुई नयाँ भिसा वर्गीकरण लागू गर्ने घोषणा गरेको छ।
यी भिसाहरू गैर-नागरिकहरूलाई अमेरिकी भूमिमा प्रवेश गरेर विदेशी व्यापारमा संलग्न जहाजहरूमा सामेल हुन र जहाजदेखि जहाजसम्म तरल कार्गो स्थानान्तरण गर्न अनुमति दिने उद्देश्यले लागू गरिएका छन्।
सीफोर र डी थ्री भिसा
- सीफोर भिसा: यसले गैर-नागरिकहरूलाई लाइटरिङ जहाजहरूमा सामेल हुन अमेरिकी भूमिमा प्रवेश गर्न अनुमति दिन्छ।
- डी थ्री भिसा: यसले गैर-नागरिकहरूलाई लाइटरिङ गतिविधिमा संलग्न हुन अनुमति दिन्छ।
सीफोर र डीथ्री संयोजन भिसा
सीफोर र डीथ्री भिसाको संयोजनका लागि पनि योग्य व्यक्तिहरूले आवेदन दिन सक्छन्। यी भिसा वाहकहरूलाई १८० दिनसम्म अमेरिकामा बस्न अनुमति दिइनेछ, जुन सीवान र सीवानडी भिसा वाहकहरूको २९ दिनको बसाइको नियमभन्दा लामो हो।
अमेरिकामा भिसाका आधारमा बस्ने समय र थप आवेदन
अमेरिकामा भिसाको प्रकारअनुसार बस्ने अवधि र थपका लागि आवेदन प्रक्रिया फरक हुने गर्दछ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नियमहरू र सीबीपीद्वारा जारी गरिएको आई-९४ दस्तावेजले कुनै व्यक्तिले अमेरिकामा कतिसम्म बस्न पाउने हो भन्ने निर्धारण गर्दछ।
आई-९४ चेक
आफ्नो बस्ने अवधि थाहा पाउनको लागि अमेरिकामा प्रवेश गरे लगत्तै अनलाइनमा आई-९४ चेक गर्नुपर्ने हुन्छ। यसमा गैर-आप्रवासी भिसावाहकहरूलाई कहिलेसम्म बस्न पाउने र कहिले फर्किनुपर्ने उल्लेख गरिएको हुन्छ। यो प्रक्रिया पहिले कागजी रूपमा उपलब्ध भए पनि अहिले डिजिटल भइसकेको छ।
कूटनीतिज्ञ र सरकारी अधिकारीहरूको भिसा
- ए-वान भिसा: कूटनीतिज्ञ वा विदेशी सरकारी अधिकारीहरूको भिसामा कुनै समयसीमा उल्लेख हुँदैन। उनीहरूले अमेरिकी विदेश मन्त्रालयबाट अनुमति पाएका अवधिसम्म बस्न पाउँछन्।
- ए-टु भिसा: अन्य सरकारी अधिकारी वा कर्मचारीहरूको लागि ए-टु भिसा पनि यही नियमअन्तर्गत पर्दछ।
अन्य भिसा वर्गीकरणहरू
- ए-थ्री भिसा: कूटनीतिज्ञहरूका व्यक्तिगत कर्मचारी, परिचर वा घरेलु कामदारहरूले पाउने यो भिसामा ३ वर्षसम्म बस्न पाइन्छ र दुई वर्ष थप्न आवेदन दिनसकिन्छ।
- बी-वान भिसा: यो भिसामा अधिकतम १ वर्षसम्म बस्न अनुमति दिइन्छ। सामान्यतया ६ महिनाको अवधि दिए पनि, अधिकारीले आवश्यकता अनुसार १ वर्षको अवधि दिनसक्छन्। थप ६ महिना बस्नका लागि भिसा विस्तार गर्न पनि सकिन्छ।
- बी-टु भिसा: यो भिसामा पनि बी-वानजस्तै नियम लागू हुन्छ, र असाधारण अवस्थामा थपका लागि आवेदन दिनसकिन्छ।