सेप्टेम्बर २०२४ देखि, काठमाडौंस्थित अमेरिकी दूतावासले प्रत्येक महिना विद्यार्थी र भिजिटर भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लटहरू खोल्न सुरु गरेको छ।
दूतावासले हरेक महिनाको एक निश्चित मितिमा नयाँ अप्वाइन्टमेन्ट स्लटहरू उपलब्ध गराउने र ती मितिहरूलाई अग्रिममा सार्वजनिक गर्ने निर्णय गरेको हो। जनवरी २०२५ का लागि अप्वाइन्टमेन्ट स्लटहरू सेप्टेम्बर ४ मा खोलेका थिए, अब फेब्रअरी २०२५ का लागि अक्टोबर १ मा र मार्च २०२५ का लागि नोभेम्बर ५ मा स्लटहरू खोलिनेछन्।
अप्वाइन्टमेन्टको चुनौती
हाल काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्वाइन्टमेन्ट पाउन औसतमा १० महिना कुर्नुपर्ने बाध्यता रहेको छ। खासगरी, विद्यार्थीहरूका लागि लामो समयसम्म अप्वाइन्टमेन्ट नपाउँदा उनीहरूको अध्ययनमा अवरोध हुने गरेको छ। यस समस्यालाई समाधान गर्न दूतावासले नियमित रूपमा अतिरिक्त अप्वाइन्टमेन्ट स्लटहरू उपलब्ध गराउन थालेको हो। विगतमा पनि दूतावासले चाप अनुसार अतिरिक्त अप्वाइन्टमेन्टहरू खोल्ने काम गरेको भए पनि मासिक रूपमा यो प्रक्रिया शुरू गरेको थिएन।
नेपाली विद्यार्थीहरूको अभूतपूर्व चाप
नेपाली विद्यार्थीहरूले अमेरिकामा अध्ययनका लागि भिसा आवेदन दिने संख्यामा पछिल्लो समयमा ऐतिहासिक वृद्धि भएको छ। जुलाई २०२४ मा मात्र १,७८८ नेपाली विद्यार्थीहरूले अमेरिकी विद्यार्थी भिसा पाएका छन्, जसमा ६३ जना डिपेन्डेन्टहरू पनि एफ-२ भिसा प्राप्त गरेका छन्। यो चालु आर्थिक वर्षको सबैभन्दा धेरै हो। चालु आर्थिक वर्षको १० महिनामा १०,९८८ नेपाली विद्यार्थीहरूले अमेरिकी भिसा प्राप्त गरेका छन्।
नेपाली विद्यार्थी भिसाको नयाँ रेकर्ड
नेपाली विद्यार्थीहरूको चापसँगै अमेरिकाले विद्यार्थी भिसा दिने संख्यामा पनि नयाँ रेकर्डहरू कायम भएका छन्। २०२४ को मे, जुन, र जुलाई महिनामा भिसा पाउनेहरूको संख्यामा लगातार वृद्धि हुँदै आएको छ।