काठमाडौँ - नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ठूला भ्रष्टाचारका घटनामा प्रमुख राजनीतिक दलहरूको सहमति हुने गरेको बताएका छन्।
शनिबार अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन कार्यक्रमको क्रममा बोल्दै भूसालले भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादीलगायत दलको संलग्नता रहेको खुलासा गरे।
ठूला भ्रष्टाचारमा राष्ट्रिय सहमति
भूसालले ४०/५० करोड भन्दा माथिका भ्रष्टाचारका घटनामा कांग्रेस, माओवादी, एमाले लगायत दलको संलग्नता रहेको उल्लेख गरे। उनले भने, “ठूला भ्रष्टाचारका मुद्दाहरूमा राष्ट्रिय सहमति हुन्छ। त्यहाँ कांग्रेस, माओवादी, एमाले सबै हुन्छन्। मेरै पार्टी पनि हुन सक्छ। त्यो सहमतिबिना देश अगाडि बढ्दैन।”
घुस खाने संस्कृतिको आलोचना
महासचिव भूसालले दलहरूले नै घुस खाने व्यक्तिहरू उत्पादन गरिरहेको आरोप लगाए। उनले भने, “पार्टीहरूले भ्रष्ट व्यक्तिहरू उत्पादन गरेसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन। कृषि क्षेत्रमै आत्मनिर्भर बन्न चाहन्छौं भने यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँभित्रबाट भ्रष्टहरू जन्मिदैनन्।”
समाजवाद र लोकप्रियतावादको आलोचना
समाजवादको यात्रा नेपालमा लोकप्रियतावादले रोकेको जिकिर गर्दै भूसालले प्रधानमन्त्री केपी ओलीमाथि समाजवादको भाष्यलाई बिगारेको आरोप लगाए। उनले भने, “चुच्चे रेल र टावरहरू जस्ता परियोजनाहरूले समाजवादको भाष्य बिगारियो। प्रधानमन्त्री मुलुकको सबैभन्दा ठूलो शिक्षक हो।”