काठमाडौं – आज नेपाली नारीहरूले ऋषिपञ्चमी पर्व अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो। यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ।
नित्यकर्म र स्नान विधि
यस पर्वमा महिलाहरू बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने प्रचलन छ। साथै, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने धार्मिक प्रथा रहेको छ।
शास्त्रीय वचन र ऋषिपञ्चमीको महत्त्व
हरितालिका तीजको व्रत र पूजा महिला र पुरुष दुवैले गर्न सक्ने भए पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्दा जानी नजानी गरिएको पापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ।
छुवाछूत निवारण र पञ्चगव्य सेवन
आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेपछि पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। स्नानपछि सप्त ऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप, र विश्वामित्रको पूजा गर्ने प्रचलन छ।
व्रतविधि र हविष्य भोजन
ऋषिपञ्चमीको व्रतमा नरोपी उम्रेका अन्नहरू (सामा, कागुनो) र कन्दमूल खाएर एक छाक हविष्य बस्ने विधि हुन्छ। पूजाआजा गरेपछि साधारण भोजन ग्रहण गर्नुपर्ने धार्मिक परम्परा छ।
ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो
ऋषिपञ्चमीको अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायतका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। मन्दिर जाने अवसर नपाएका महिलाहरूले नदी किनार वा घरमै पूजा, आराधना गर्ने प्रचलन छ।