काठमाडौं - जर्मनीले शनिबार राति यूईएफए नेसन्स लिग अन्तर्गत लिग ए को समूह तीनमा हंगेरीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदान मर्कुर स्पाइल एरेनामा जर्मनीले उत्कृष्ट प्रदर्शन गर्दै हंगेरीलाई हरायो।
निक्लस फुलकर्गको गोलले अग्रता
जर्मनीका लागि पहिलो गोल निकलस फुलकर्गले २७औं मिनेटमा गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थप्दै खेल आफ्नो पक्षमा ल्याएको थियो।
मुसिएला र अन्य खेलाडीको शानदार प्रदर्शन
जर्मनीका जमल मुसिएलाले ५७औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। फ्लोरिन रिट्जले ६६औं मिनेटमा, अलेजान्डर पाब्लोभिकले ७७औं मिनेटमा र काई हाभार्ट्सले ८१औं मिनेटमा गोल गर्दै जर्मनीको जित पक्का गरेका थिए। मुसिएलाले हाभार्ट्सको पेनाल्टी गोल बाहेक अन्य तीन गोलका लागि असिस्ट पनि प्रदान गरेका थिए।
नेदरल्याण्ड्सको जित
यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले बोस्निया एण्ड हर्जगोविनालाई ५-२ ले पराजित गर्यो। नेदरल्याण्ड्सका जोसुअ झिर्की, तिजानी रेइजडर्स, कोडी गाक्पो, वाउट वेघोर्स्ट र जाभी सिमोन्सले गोल गर्दै टोलीलाई जित दिलाए।
इंग्ल्याण्डले पनि जित हासिल
यूईएफए नेसन्स लिगकै लिग बी अन्तर्गतको समूह दुईमा इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई २-० ले पराजित गर्यो। इंग्ल्याण्डका लागि डेक्लान राइस र ज्याक ग्रेलिसले गोल गरे।
जर्मनी र नेदरल्याण्ड्स दुवै टोलीले समान ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेका छन्।