नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
बालकको घटनास्थलमै मृत्यु
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका-१० भैसाखोरीमा शुक्रबार राति कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले सात वर्षीय बालक विशाल श्रेष्ठ र उनकी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गैँडाकोट-११ निवासी सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।
हजुरआमाको उपचारका क्रममा निधन
साथै, बालककी मामाघरकी हजुरआमा, ५५ वर्षीया स्याङ्जा निवासी श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन्। घाइते श्रीमायाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो तर गएराति उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
सवारीसाधन र चालक प्रहरी नियन्त्रणमा
प्रहरीका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइसकिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।