वीरगञ्ज – नारायणी अस्पताल वीरगञ्जका निमित्त मेसु डा. मो. एनामुल हकले निजी स्वार्थकम लिप्त भएको खुलाशा भएको छ।
नारायणी अस्पतालमा निमित्त मेसुको पदमा रहेका उनले वीरगञ्जकै अर्को निजी अस्पताल नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.को समेत व्यवस्थापकको जिम्मेवारी वहन गरिरहेको खुला शा भएको हो। सरकारी जिम्मेवारीका साथसाथै निजी अस्पतालको कार्यकारी पद सम्हालेको यो अवस्था स्वार्थको द्वन्द्वका रुपमा आएको छ। मधेश प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालका प्रमुख डा. हकको यो भूमिका चासोको विषय बनेको छ।
सरकारी अस्पतालको प्रमुख, निजी अस्पतालको म्यानेजर
नेपाल सरकारका १० औं तहका चिकित्सकसमेत रहेका डा. हकले सरकारी नारायणी अस्पतालबाट ५० मिटरको दूरीमा रहेको निजी नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको जिम्मा समेत लिएका छन्। यसले सरकारी सेवामा रहेका व्यक्तिले निजी क्षेत्रमा पनि संलग्नता जनाउन मिल्ने कानुनी प्रश्न खडा गरेको छ।
निजी अस्पतालमा व्यवस्थापन जिम्मेवारी
नारायणी सेन्ट्रल हस्पिटलका संचालक सुमन केयल र सुरेस केयलले साउन १ मा ११ जना चिकित्सकलाई साक्षी राखेर लिखित माइन्युटमार्फत् डा. हकलाई सम्पूर्ण व्यवस्थापन जिम्मा सुम्पिएका थिए। ‘अस्पतालको सबै व्यवस्थापनको जिम्मेवारी डा. एनामुल हकको हुनेछ,’ माइन्युटमा लेखिएको छ। यससँगै उनी पूर्णकालीन चिकित्सकहरू पनि ल्याउने जिम्मामा छन्।
सरकारी अस्पताल अस्तव्यस्त, निजीमा फाइदा?
डा. हक नारायणी अस्पतालको मेसु नियुक्त भएपछि अस्पताल व्यवस्थापन अस्तव्यस्त भएको आरोप लागिरहेको छ। उनी मेसु बनेको ११ दिनपछि नै ४६ जना चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई विकास समितिको सल्लाह बिना नै हटाइएको थियो। कर्मचारीहरुले सरकारी अस्पताललाई कमजोर पारेर बिरामीलाई निजी अस्पतालतर्फ पठाउने प्रयास गरेको आरोप लगाएका छन्।
डा. हकको बचाउ: केवल क्लिनिक हेरिरहेको दाबी
हेल्थआवाजले डा. हकलाई सरकारी अस्पतालको मेसु भई निजी अस्पतालको व्यवस्थापन हेर्न मिल्छ भनेर प्रश्न गर्दा उनले आफू व्यवस्थापनमा संलग्न नरहेको दाबी गरे। ‘हामी त्यहाँ क्लिनिक मात्र हेर्छौं,’ उनले भने, ‘अन्य व्यवस्थापनमा संलग्नता छैन।’ तर, १ साउनमा गरिएको लिखित निर्णयमा भने उनलाई सम्पूर्ण व्यवस्थापनको जिम्मा दिइएको स्पष्ट उल्लेख छ।
विवादित जिम्मेवारी र थप अनुसन्धान
डा. हकको दुईथरी भूमिकाले सरकारी अस्पतालको सेवामा बाधा पुर्याएको भन्दै यो विषयमाथि थप अनुसन्धानको माग उठिरहेको छ। सरकारी अस्पतालमा भइरहेको समस्या र निजी अस्पतालमा उनले लिएको जिम्मेवारीले स्वार्थ द्वन्द्व उत्पन्न गरेको छ।
(हेल्थ आवाजको सहयोगमा तयार पारिएको सामग्री)