काठमाडौँ - बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन। निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंकहरूमा तरलता (ऋण दिन मिल्ने रकम) धेरै भइरहेको हो। यस कारण, राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको कदम
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो। अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले फेरि बजारबाट पैसा झिक्न थालेको हो।
तीन प्रतिशत भन्दा कम ब्याज दरले पैसा झिक्नुपर्ने अवस्था
हालको व्यवस्थाअनुसार, अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झर्यो भने राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ। भने, ब्याज दर ६.५ प्रतिशतभन्दा माथि पुगेपछि बजारमा पैसा पठाउनुपर्छ। अहिले ब्याज दर तीन प्रतिशतभन्दा तल झरेकाले राष्ट्र बैंकले बजारबाट रकम झिक्न लागेको हो।
बैंक तथा वित्तीय संस्थालाई बोलकबोलको आह्वान
राष्ट्र बैंकले आज (आइतबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। बोलकबोलको लागि न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्मको सीमा निर्धारण गरिएको छ।
‘क’, ‘ख’, र ‘ग’ वर्गका संस्था मात्र सहभागी
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने जानकारी राष्ट्र बैंकले दिएको छ।
बहुब्याजदरमा बोलकबोलको सुविधा
राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने बताउँदै बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने सुविधा उपलब्ध गराएको छ।