काठमाडौँ – सन् २०२४ को जुलाई महिनामा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा (DV Visa) प्राप्त गरेसँगै चालु आर्थिक बर्ष २०२४ मा अमेरिकाको डिभी पाउने नेपालीहरुको संख्या २५०५ पुगेको छ। अगस्त महिनाको डिभी भिसा प्राप्त गर्ने नेपालीहरुको आधिकारिक संख्या अझै सार्वजनिक नभएपनि, सेप्टेम्बरको अन्त्यसम्म २०२४ का सबै डिभी विजेताले भिसा प्राप्त गर्न सक्नेछन्।
सेप्टेम्बरमा डिभी विजेताका लागि सीमाबन्दी
२०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बर महिनामा केस नम्बरको सीमाबन्दी तोकिएको छ। सेप्टेम्बर महिनामा १३ हजारसम्मका केस नम्बर भएका विजेताले मात्र भिसा प्राप्त गर्नसक्नेछन्। यसअर्थमा, १३ हजारभन्दा माथि केस नम्बर भएका नेपाली डिभी विजेताले यस बर्ष भिसा पाउने सम्भावना समाप्त भएको छ। सन् २०२५ को नयाँ डिभी प्रक्रिया अक्टोबर १ देखि सुरु हुनेछ।
विगतका बर्षहरुमा अगस्त र सेप्टेम्बर महिनामा सबै डिभी विजेताका केस नम्बर करेन्ट हुने वा सीमाबन्दी न्यून हुने गरेको थियो। तर, यस बर्ष भने १३ हजारभन्दा बढी केस नम्बर भएका विजेताले निराशा भोग्नुपरेको छ।
डाइभर्सिटी भिसा प्राप्त गर्ने नेपालीहरुको तथ्यांक
चालु आर्थिक बर्ष २०२४ मा अप्रिल महिनामा ३९९ जना नेपालीहरुले डिभी भिसा प्राप्त गरेका थिए। मे महिनामा २९३ जना र जुन महिनामा ८६ जना नेपालीले डिभी भिसा पाएका थिए। डिसेम्बरदेखि नेपालीहरुले प्राप्त गर्ने डिभी भिसाको संख्या घट्दो क्रममा देखिएको छ। डिसेम्बरमा ४१४ जना, जनवरीमा ३११ जना, फेब्रुअरीमा २६८ जना, र मार्चमा १९८ जना नेपालीले डिभी भिसा पाएका थिए।
सन् २०२२ मा आवेदन दिएका नेपालीहरुले अहिले भिसा पाउने प्रक्रिया हुँदैछ भने सन् २०२३ मा आवेदन दिने नेपालीहरुले आगामी अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन्।
नेपाल, एसियामा तेस्रो स्थानमा
आर्थिक बर्ष २०२४ मा कुल ३८६३ नेपालीहरुले डिभी जितेका थिए। यस हिसाबले नेपाल, एसियामा सबैभन्दा धेरै डिभी विजेता भएका देशहरुमध्ये तेस्रो स्थानमा पर्छ। इरानका ५७७७ र अफगानिस्तानका ४५३६ जना डिभी विजेताले यस सूचीमा पहिलो र दोस्रो स्थान ओगटेका छन्।
सन् २०२४ को डिभी कार्यक्रम अन्तर्गत १ लाख ४३ हजार जनाले डिभी जितेका भए पनि अधिकतम ५५ हजार जनाले मात्र भिसा पाउन सक्नेछन्, जसले गर्दा डिभी जित्नाले भिसा प्राप्तिको ग्यारेन्टी नहुने प्रष्ट भएको छ।