काठमाडौं - छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो।
छोरी हराएको भन्दै प्रहरीमा निवेदन
२७ साउनको दिउँसो ५ बजेतिर प्रमिला भन्डारीले आफ्नी २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन्।
शव खोलामा फेला
प्रहरीले खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर प्रमिलाको घर नजिकै सिलिङ्गेबेसी आँपबोटको ठोस्ने खोलामा बालिकाको शव फेला पारेको थियो। शव पानीमा डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा भेटिएको थियो।
अनुसन्धानपछि हत्या गरेको स्वीकार
शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रमिला भन्डारीले हिकाउँदा छोरी बेहोस भएपछि खोलामा फालेको स्वीकार गरेकी छन्।
कर्तव्य ज्यानको कसुरमा अनुसन्धान
प्रमिला भन्डारीविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।