रौतहट – रौतहटको बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेला परेको छ। चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको हो।
प्रहरीको टोलीद्वारा शव फेला
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले माझीको शव फेला पारेको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शवलाई प्रादेशिक अस्पताल, कलैया बारा पठाइएको छ।
बकैया खोलामा बेपत्ता
माझी मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका थिए। भदौ २१ गते, बकैया–६ जुनाइस्थित खोलामा तर्ने क्रममा आएको बाढीले उनलाई बगाएको थियो। इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा खोजी गर्दा, आज शव फेला परेको हो।