दुबई - संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा माहरा फेरि चर्चामा आएकी छिन्। यसपटक उनी आफ्नो नयाँ परफ्युम ‘डिभोर्स’ लन्च गरेपछि सामाजिक सञ्जालमा भाइरल भएकी छिन्।
पर्फ्युम ‘डिभोर्स’ ले खिच्यो ध्यान
शेखा माहराले आफ्नो ब्राण्ड माहरा एम १ अन्तर्गत भर्खरै लन्च गरेको ‘डिभोर्स’ नामक पर्फ्युमले धेरैको ध्यान खिचेको छ। पर्फ्युमको नामले नै सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। ३० वर्षीया राजकुमारीले यस परफ्युमको टिजर आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्, जसमा कालो डब्बामा सेतो अक्षरमा ‘डिभोर्स’ लेखिएको छ। टिजरमा शिशाको टुक्रा, कालो पत्र, र कालो ढुङ्गा देखाइएको छ, जसले गर्दा यो पोस्ट छिट्टै भाइरल भएको छ।
सम्बन्धविच्छेदको कारण
राजकुमारी शेखा माहराले यसअघि जुलाईमा आफ्ना श्रीमान शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमलाई सार्वजनिक रूपमा तलाक दिएकी थिइन्। उनले श्रीमानसँगको सम्बन्ध विच्छेदको घोषणा इन्स्टाग्राममार्फत गरेकी थिइन्। श्रीमानले अन्य सम्बन्ध बनाएको आरोप लगाउँदै उनले तीन तलाक दिएको बताएकी थिइन्।
चर्चामा आएकी राजकुमारी
दुबई जस्तो परम्परागत मुलुकमा, राजकुमारीले सार्वजनिक रूपमा श्रीमानलाई तलाक दिएपछि उनी निकै चर्चामा आएकी थिइन्। शेखा माहराले मे २०२३ मा शेख मानासँग विवाह गरेकी थिइन्, र मे महिनामा नै यी दुईको छोरीको जन्म भएको थियो।
उनको व्यक्तिगत जीवनसँगै व्यवसायिक पहलले पनि उनलाई चर्चामा राख्न सफल भएको छ।