सिड्नी – अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट्रल क्षेत्रमा रहेको एक पार्कमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छिन्। गएराति प्रहरीले उनीमाथि अनुसन्धान गर्दा सेन्ट्रल पार्कमा उनको मृत शरीर फेला परेको हो।
दूतावास र एनआरएनएद्वारा पुष्टि
अस्ट्रेलियास्थित नेपाली दूतावासले समेत घटनाको पुष्टि गरेको छ। कार्यवाहक राजदूत कुलराज मगरले युवतीको मृत्युको बारेमा जानकारी आएको बताए। त्यस्तै, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले झापा घर भएकी २७ वर्षीया नेपाली युवतीको मृत्यु भएको पुष्टि गर्दै, मृतकको परिवारलाई आवश्यक सहयोग पुर्याइरहेको जानकारी दिए।
परिवारको अपिल
मृतक युवतीको नाम र अन्य व्यक्तिगत विवरण गोपनीयताका कारण सार्वजनिक नगरिएको छ। उनी विवाह पश्चात् करिब ४ महिनाअघि मात्र अस्ट्रेलिया पुगेकी थिइन्। नेपालस्थित परिवारले एनआरएनएलाई सत्यतथ्य छानबिन गर्न सहयोग गर्न आग्रह गरेको छ।
अनुसन्धान जारी
न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माका अनुसार, स्थानीय प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण अझै प्रष्ट हुन सकेको छैन। शर्माले यस दुःखद घटनामा परिवारलाई सहयोग पुर्याउन दूतावास, वाणिज्यदूतावास लगायतका संघसंस्थाहरू तयार रहेको जानकारी दिए।
केही दिनअघि सिड्नीमा अर्को नेपालीको मृत्यु
करिब एक साताअघि मात्र सिड्नीमा एक नेपाली युवक मृत भेटिएका थिए। उनको शव एनआरएनए लगायतका संघसंस्थाहरूको सहयोगमा नेपाल पठाइएको थियो।