बर्दियामा लगातारको वर्षाले बबई नदीको जलस्तर खतराको चिह्नमा नजिक पुगेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अवस्था चिन्ताजनक बन्दै
बुधबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीको जलस्तर शुक्रबार बिहान ६ बजेसम्म ५.२५ मिटरमाथि पुगेको छ। बबई नदीमा ६.८० मिटर पुग्दा गाउँबस्ती डुबानको जोखिम मानिने भएकोले यो अवस्था चिन्ताजनक बन्दै गएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन सचेत गराइएको जानकारी दिएकी छिन्।
कर्णाली नदीमा पनि जलस्तर बढ्दै
यसैबीच कर्णाली नदीमा पनि जलस्तर बढ्दै गएको छ। बिहान ६ बजेसम्म कर्णालीमा ८ मिटरमाथि पानी बगिरहेको छ। कर्णालीमा १० मिटरमाथि पानी पुगेमा बाढीको जोखिम बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ। पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले जलस्तर अझै बढ्ने सम्भावना रहेकोले प्रशासनले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।
नदी किनारमा माछा मार्न र दाउरा बटुल्न रोक
स्थानीय प्रशासनले नदीमा माछा मार्ने र दाउरा बटुल्ने कार्य नगर्नका लागि बासिन्दालाई आग्रह गरेको छ। बाढीको जोखिमका कारण कुनै पनि जोखिमपूर्ण गतिविधि नगर्नु भन्दै सबैलाई सचेत गराइएको छ।