बैतडीमा लगातारको वर्षापछि खसेको पहिरोका कारण दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग अवरुद्ध बनेको थियो। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा र महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो।
पहिरो पन्छाएपछि यातायात सुचारु
दुवै स्थानमा खसेको पहिरो पन्छाएपछि आजदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन्।
लगातारको वर्षा र प्रभावित जनजीवन
लगातार तीन दिनदेखि यहाँको जनजीवन प्रभावित भइरहेको छ। गत बुधबार बेलुकादेखि निरन्तर रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। यस अवस्थाका कारण जिल्लामा सतर्कता अपनाउनको लागि जिल्ला प्रशासन कार्यालय बैतडीले अपिल गरेको छ।