सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरालाई अस्थायी रूपमा सर्वसाधारणका लागि खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले उक्त निर्णय गर्दै धरहराको सञ्चालन जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको छ।
धरहराको पुनर्निर्माण र उद्घाटन
२०७२ सालको भूकम्पले भत्किएको धरहरालाई पुनर्निर्माण गरी २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गरेका थिए। उद्घाटन हुँदा धरहराको स्तम्भ तयार भए पनि भूमिगत पार्किङ लगायतका संरचनाहरू बाँकी थिए।
ऐतिहासिक धरहराको भग्नावशेष
भीमसेन थापाले बनाएको ११ तले धरहरा ९० सालको भुइँचालोपछि नौ तलामा सीमित भएको थियो। अहिलेको धरहरा बाहिरबाट ११ तले देखिए पनि भित्र २२ तला छन्, जसमा तीनवटा तला भूमिगत छन्। धरहराको भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणलाई देख्न सकिने व्यवस्था गर्ने तयारी गरिएको छ।
धरहरा परिसर र संरचना
धरहरा अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको छ। वरपर विश्राम स्थलसहितको बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायतका संरचना निर्माण भइरहेको छ। त्यहाँ २४ सै घन्टा पानी आउने सुन्धारासमेत छ। साथै, तीन तले भूमिगत पार्किङ बनाइएको छ, जसमा चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिनेछ।