पोखरा - ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरामा शारीरिक अपांगता भएका बालबालिकाहरूको पहिचान र स्वास्थ्य परीक्षणका लागि शिविर सम्पन्न भएको छ। यस शिविरमा करिब १०० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हो। विकलांग मित्र समूह, अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा, र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शिविरमा जन्मजात खुट्टाको समस्या, हाडजोर्नीको विकृति, अंगहरू टाँसिएको, हड्डीको टीबी रोग, र अन्य शारीरिक समस्या भएका बालबालिकाहरूको उपचार गरिएको थियो। साथै, कृतिम अंग र सहायक सामग्रीहरूको आवश्यकता भएका बालबालिकाहरूको पनि परीक्षण गरिएको थियो। अपांगता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले बालबालिकाको स्वास्थ्य परीक्षणबारे जानकारी दिए।
पोखरा महानगरको पहल
शिविर उद्घाटन पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन्। उनले यस शिविरले बालबालिकाहरूलाई बनेपा जानुपर्ने बाध्यता हटाएको र स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गरेको बताइन्। पोखरा महानगरपालिका बालबालिकाको स्वास्थ्य र कल्याणका लागि गम्भीर रहेको समेत उल्लेख गरिन्।
बाल सुधार गृहमा फलफूल वितरण
पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरूलाई फलफूल वितरण गरेको छ। उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफूल हस्तान्तरण गरिन्।
बाल सुधार गृहमा भएको अवलोकन र छलफलमा, बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राखिएकोले केही समस्या भएको जानकारी गराइएको थियो। वाडेन अजय केसीले सुधार गृहमा खानाका लागि टेबल र कुर्सीको अभाव रहेको र त्यसका लागि सहयोगको आवश्यकता रहेको बताए। हाल सुधार गृहमा ११० जना बालकहरू रहेका छन्, जबकि यसको क्षमता ६० जनाको मात्र हो।