भारत -कर्नाटकको बेलगामस्थित निप्पानी स्थवनिधि घाट नजिकै भीषण सवारी दुर्घटना भएको छ। उक्त दुर्घटनामा एकपछि अर्को ८ वटा सवारीसाधन एकआपसमा ठोक्कीएका थिए। दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। मृतकहरूमा दुईजना मोटरसाईकलमा सवार र दुईजना कार यात्रुहरू रहेका छन्। घटनास्थलका तस्बिरहरूमा ट्यांकरमुनि कार च्यापिएको देखिन्छ। कार पूरै क्षतविक्षत अवस्थामा रहेको छ।
प्रत्यक्षदर्शीका अनुसार भयावह दृश्य
प्रत्यक्षदर्शीहरूले बताएअनुसार दुर्घटना हुनेबित्तिकै चारैतिर कोलाहल मच्चिएको थियो। केहि पलमै सवारीहरू एकपछि अर्को गर्दै एकआपसमा ठोक्किँदै गए। दुर्घटना भएलगत्तै स्थानीयहरूले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै भनेको छ कि कन्टेनर चालकको लापरवाहीका कारण तीन वटा कार, दुई वटा लरी, एक वटा कन्टेनर र एक मोटरसाइकल दुर्घटनामा परे।
मृतकहरूको पहिचान
कर्नाटक प्रहरीले घटनामा मृत्यु भएका चार जनाको पहिचान सार्वजनिक गरेको छ। मृतकहरूमा सन्तोष गणपति माने, रेखा गादीवद्दर (दुवैजना मोटरसाईकल सवार) र जबीन मनकादरा तथा दिलादारा मुल्ला (कारका यात्रु) रहेका छन्। घाइतेहरूको निप्पानीस्थित अस्पतालमा उपचार भइरहेको छ। यस घटनाको अनुसन्धान कर्नाटक प्रहरीद्वारा जारी छ। यो घटना निप्पानी शहर थाना क्षेत्रको अन्तर्गत पर्दछ।