परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी छन्। बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यो आग्रह राखेकी हुन्।
नेपाल–क्यानाडा सम्बन्ध र आपसी चासो
द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित, आर्थिक लगानी, र साझेदारी लगायतका विषयमा गहन कुराकानी भएको थियो। परराष्ट्रमन्त्री राणाले अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको बढ्दो सङ्ख्या, क्यानाडाली पर्यटकहरूको नेपाल आगमन, र दुई देशका नागरिकबीचको भ्रमण आदानप्रदानको महत्त्वलाई उजागर गरिन्।
नेपालमा क्यानाडाली दूताबासको महत्व
परराष्ट्रमन्त्री राणाले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु उचित हुने बताउँदै यसका लागि अनुरोध गरिन्। उनले क्यानाडाली पेन्सन फण्डका माध्यमबाट नेपालमा जलविद्युत् क्षेत्रमा सहयोग गर्ने सम्भावनालाई पनि जोड दिइन्।
क्यानाडाले पुर्याएको सहयोगको सराहना
परराष्ट्रमन्त्री डा. राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन्। उनले हालै संसदले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन र शान्ति प्रक्रियाका बाँकी कामहरू पनि पूरा हुने जानकारी गराइन्।
क्यानाडाको सहयोगको अपेक्षा र प्रतिबद्धता
नेपालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट ग्राजुएट हुने योजनामा रहेकाले, व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरिएको पनि मन्त्री राणाले बताइन्। क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै छात्रा विश्वविद्यालय स्थापनामा र छात्रा शिक्षामा सहयोग गर्ने बताइन्।
कूटनीतिक सम्बन्धको ६०औं वार्षिकोत्सव
नेपाल र क्यानाडाबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो, र आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव मनाइनेछ। नेपालका उत्पादनलाई ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको क्यानाडाले यसपछि पनि सहयोगलाई निरन्तरता दिने आश्वासन दिएको छ।