काठमाडौँ — कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा संसदीय छानबिन समितिले कारबाहीको निर्देशन दिएको छ। गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसँग सम्बन्धित उजुरीको आधारमा यो निर्देशन दिइएको हो।
सहकारीको दुरुपयोगको आरोप
सहकारी संस्था बचत रकम दुरुपयोगको सम्बन्धमा संसदीय छानबिन समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा कतिपय समस्याग्रस्त सहकारी संस्थाहरूमा नक्कली अभ्यास भएको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको छ। प्रतिवेदनमा भनिएको छ, "सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन्। मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरे पनि एकसाथ बस्ने गरेको चर्चा छ।"
अनुसन्धान र कानुनी कारबाही
प्रतिवेदनअनुसार, ज्योति गुरुङ र धनराज गुरुङविरुद्ध प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेको र सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा समेत अनुसन्धान भइरहेको छ। समितिले यस विषयमा थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिएको छ।
गृह मन्त्रालयलाई पत्राचार
यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराउन गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।