पोखरा - अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकलाई पदमार्गको हब बनाउन सकिने सम्भावना रहेको बताएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यो कुरा उल्लेख गरेका हुन्।
उनका अनुसार, घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे, हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल लगायतका गन्तव्यमा पुग्न सकिने हुँदा घान्द्रुक पर्यटकहरूको रोजाइमा पर्ने महत्वपूर्ण केन्द्र बन्नेछ। "घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि आकर्षक गन्तव्य बन्दै गइरहेको छ। यदि घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा विकास गर्न सके, यस स्थानको महत्व अझै बढ्न सक्छ," डा. कडरियाले भने।
वन्यजन्तु संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड
डा. कडरियाले घान्द्रुकमा पर्यटकहरूको संख्या बढाउन र उनीहरूको बसाइ लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यहरू विकास गर्नुपर्नेमा जोड दिएका छन्। साथै, वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए। "हामीले वन्यजन्तुलाई हानी नोक्सानी गर्ने रूपमा मात्र नहेरी, यसको संरक्षण र प्रवद्र्धन गर्न सके घान्द्रुकलाई पर्यटकहरूको लागि आकर्षक बनाइदिन सक्छ," उनले थपे।
वन डढेलो नियन्त्रणमा समुदायको चनाखोपन आवश्यक रहेको भन्दै उनले स्थानीय उत्पादन, विशेष गरी अल्लो, लोकल रक्सी, सुकुटी, र अन्य स्थानीय उत्पादनहरूको ब्राण्डिङ गर्न आवश्यक रहेको बताए। उनले ब्राण्डिङबाट आर्थिक लाभ पनि हुने बताए।
स्थानीय सरकार र एक्यापबीच समन्वय
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासका लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताए। कार्यक्रममा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका सचिव माया पुन थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्वारा सम्मान
साधारण सभामा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले विदेशी पर्यटकहरूको शुल्क बुझाउने होटल ब्रिजका सञ्चालक सुवास गुरुङ, र नेपाली गाइड (पोर्टर) शुल्क बुझाउने होटल वर्ल्ड भिलेज इनका सञ्चालक अमृत गुरुङलाई सम्मान गरेको थियो।
यस अवसरमा तमु प्येल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले घान्द्रुकको विकास र पर्यटन प्रवद्र्धनमा एकताबद्ध रूपमा अगाडि बढ्न सुझाव दिए। साधारण सभा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।