बेरुत — इजरायलले सोमबार दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जनाको मृत्यु भएको छ भने ७ सय २७ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, घाइते हुनेमा महिला, बालबालिका र स्वास्थ्यकर्मी समेत रहेका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
हेजबुल्लाहलाई लक्षित आक्रमण
इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेना आईडीएफका प्रवक्ता डानियल हगारीले दक्षिणी लेबनानका तीन सय स्थानमा आक्रमण गरिएको जानकारी दिए। उनले भने, "हामीले आक्रमण गरेका हरेक घरमा हातहतियार थिए।" हगारीले बेका उपत्यकामा रहेका हेजबुल्लाहका सैन्य केन्द्रहरूमा पनि छिट्टै आक्रमण गर्ने घोषणा गरेका छन्।
हमासविरुद्धको युद्ध र हेजबुल्लाहको प्रतिक्रिया
इजरायलले गत अक्टोबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै यो सबैभन्दा भयानक आक्रमण हो। हमासले उत्तरी इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो र २ सय ५० भन्दा बढीलाई बन्धक बनाएको थियो। त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टिनीको मृत्यु भएको छ। हेजबुल्लाहले हमासलाई सहयोग गर्ने घोषणा गरेपछि इजरायलले हेजबुल्लाहलक्षित आक्रमण सुरु गरेको हो।
हेजबुल्लाह समूहको प्रतिक्रिया
गत साता हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो र ३ हजार ५ सयभन्दा बढी घाइते भएका थिए। हेजबुल्लाहले उक्त विस्फोटको लागि इजरायललाई दोषी ठहराउँदै घटनाको बदला लिने चेतावनी दिएको थियो। इजरायलले भने यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।
हेजबुल्लाहका शीर्ष कमाण्डरको मृत्यु
त्यस्तै, इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर इब्राहिम अकिलको मृत्यु भएको थियो। हेजबुल्लाह र हमासलाई इजरायल, अमेरिका, यूके लगायतका देशहरूले आतंककारी समूहको रूपमा घोषित गरेका छन्।