जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशभर मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।
विशेष मौसम बुलेटिन सार्वजनिक
महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पार्न सक्ने भएकाले किसानहरूलाई खेती कार्य सुरु गर्नु अगावै नियमित रूपमा मौसम जानकारी तथा पूर्वानुमान अद्यावधिक गर्न अनुरोध गरेको छ।
मनसुनी वायुको प्रभाव
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको कारण बंगालको खाडीबाट जलवाष्फयुक्त हावा प्रवाह भइरहेको छ। यसले गर्दा आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली हुने र लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा, केही स्थानमा मध्यम, र एकरदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
प्रदेश अनुसारको मौसम पूर्वानुमान
बुलेटिनमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उल्लेख छ। बुधबारसम्म देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।